इमरान खानको जीवन जोखिममा रहेको छोराको दाबी, अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जीवन जोखिममा रहेको भन्दै उनका छोरा कासिम खानले अन्तर्राष्ट्रिय समुदायसँग तत्काल हस्तक्षेप गर्न अपिल गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै कासिमले सेना प्रमुख असीम मुनीर नेतृत्वको पाकिस्तानी सैन्य प्रशासनमाथि हत्या, अपहरण र यातनाजस्ता गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्। आफ्ना बुबाको ज्यान जानुअघि नै विश्व समुदायले पहल गर्नुपर्ने उनको माग छ।
यसैबीच, एम्नेस्टी इन्टरनेसनलले इमरान खान र उनकी पत्नी बुशरा बीबीको हिरासत अवस्था, स्वास्थ्य उपचार तथा परिवार र कानुनी प्रतिनिधिसँगको भेटघाटमा लगाइएको प्रतिबन्धप्रति चिन्ता व्यक्त गरेको छ।
संस्थाका अनुसार इमरानलाई परिवारसँग नियमित भेटघाट र छोराहरूसँग टेलिफोनमा कुराकानी गर्न दिइएको छैन। एकान्त कारावास र पर्याप्त उपचारको अभावले उनको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनीसमेत दिइएको छ।
एम्नेस्टीले इमरान र बुशरालाई पर्याप्त स्वास्थ्य उपचार तथा परिवार र कानुनी प्रतिनिधिसँग नियमित भेटघाटको व्यवस्था गर्न पाकिस्तानी अधिकारीसँग माग गरेको छ। साथै, हिरासतमा रहेकी इमरानकी बहिनी अलीमा खानलाई तत्काल रिहा गर्न पनि आग्रह गरेको छ।