बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र केरुङ नाका खुलाउन चीनले प्रयास गरिरहेको छ : याङ वानमिङ
चिनियाँ वैदेशिक जनमैत्री सङ्घका अध्यक्ष याङ वानमिङले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका काम अघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालनका लागि चीनले प्रयास गरिरहेको बताएका छन्।
तीनदिने नेपाल भ्रमणमा रहेका अध्यक्ष वानमिङले बुधबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँगको भेटमा चीनले आफ्नो क्षमताअनुसार नेपाललाई सहयोग गर्दै आएको र विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
उनले भूकम्प, कोरोना महामारी र भोटेकोशी बाढीजस्ता विपद्का समयमा नेपाल र चीनले एकअर्कालाई सहयोग गर्दै आएको उल्लेख गरे। कठिन परिस्थितिमा पनि दुई देशबीचको मित्रता र सहकार्य निरन्तर कायम रहेको उनको भनाइ थियो।
वानमिङले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच ऐतिहासिक तथा रणनीतिक सम्बन्ध स्थापना गर्ने सहमति भएको स्मरण गर्दै आर्थिक, राजनीतिक, सांस्कृतिक, पर्यटन तथा युवा आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार भइरहेको बताए।
भेटमा नगरप्रमुख प्रजापतिले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, घनिष्ठ र मित्रवत् रहेको उल्लेख गरे। उनले दुई देशबीचको सांस्कृतिक सम्बन्ध र नेपालको आर्थिक विकासमा चीनले पुर्याउँदै आएको सहयोगको चर्चा गरे।
भेटपछि चिनियाँ प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्र, टौमढी र तालाक्व क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गरेको थियो।