इजरायलद्वारा लेबनानमा हवाई आक्रमण तीव्र, साइडनमा ३ जनाको मृत्यु
इजरायलले लेबनानमा हवाई आक्रमण तीव्र पारेको छ। दक्षिणी लेबनानको साइडन शहरमा भएको पछिल्लो हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको छ।
स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै अल जजीराका अनुसार आक्रमणस्थलमा तीन वटा शव फेला परेका छन्। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सेनाले साइडन शहरको किया क्षेत्रमा आवासीय भवनको अपार्टमेन्टलाई लक्षित गरी आक्रमण गरेको हो।
बिहीबार झिसमिसेमै गरिएको उक्त हवाई हमलामा पाँच जना घाइते भएका छन्, जसलाई उपचारका लागि अस्पताल लगिएको छ।
पछिल्ला केही दिनयता इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमणलाई तीव्र बनाउँदै लगेको छ। इजरायली पक्षले दक्षिणी लेबनानको लिटानी नदी पारिसम्म सैन्य कारबाही विस्तार गर्ने संकेत समेत दिएको छ।
यसैबीच लेबनान र इजरायलबीच अमेरिकी मध्यस्थतामा शान्ति वार्ता हुने तयारी भएको छ। आगामी वार्तामा दुई देशका सैन्य अधिकारीहरूले प्राविधिक विषयमा छलफल गर्ने जनाइएको छ।
सैन्य स्तरको वार्तामा सहमति भएमा आगामी जुन महिनाको पहिलो सातामा दुई देशबीच कूटनीतिक स्तरको वार्ता हुने अपेक्षा गरिएको छ।