६ लाखभन्दा बढीका पटाकासहित दुई भारतीय नागरिक पक्राउ
प्रहरीले चितवनबाट ६ लाख २३ हजार रुपैयाँभन्दा बढी मूल्यका पटाकासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको मोतिहारी घर भएका ४१ वर्षीय सञ्जय साह तेली र २९ वर्षीय कन्हैया कुमार रहेका छन्। उनीहरूको साथबाट ८० हजार ३७२ वटा पटाका र एक लाख ७२ हजार ३०० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरूमाथि विस्फोटक पदार्थको ओसारपसार तथा भण्डारणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
मध्यवर्ती सामुदायिक वनमा गैँडाको अस्थिपञ्जर भेटियो
चितवनको राप्ती नगरपालिका–१ स्थित दमस्थानी मध्यवर्ती सामुदायिक वनमा दुर्लभ एकसिङ्गे गैँडाको अस्थिपञ्जर भेटिएको छ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार करिब छ महिनाअघि मरेको गैँडाको खाग र खुरसहित अस्थिपञ्जर फेला परेको हो। खाग र खुर सुरक्षित रहेकाले गैँडा प्राकृतिक कारणले मरेको अनुमान गरिएको निकुञ्जले जनाएको छ।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ६९४ वयस्क गैँडा रहेका छन्। नेपालभर गैँडाको सङ्ख्या ७५२ रहेको छ।