चितवनमा ६ लाखभन्दा बढीका पटाका बरामद, दुई जना पक्राउ
प्रहरीले रु ६ लाख २३ हजार ४६५ बराबरका पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायतका पटाका बरामद गर्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घर भई हाल कालिका नगरपालिका–६, हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र सोही स्थानका २९ वर्षीय कन्हैया कुमार रहेका छन्। कन्हैया हाल भरतपुर महानगरपालिका–३, बाह्रघरेमा बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार उनीहरूको साथबाट ८० हजार ३७२ थान पटाका र नगद रु १ लाख ७२ हजार ३०० समेत बरामद गरिएको छ।
प्रहरी उपरीक्षक पौडेलले पटाकाजस्ता विस्फोटक पदार्थको अवैध कारोबार भइरहेको जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
पक्राउ परेका दुवै जनामाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई पटाका ओसारपसार तथा सञ्चय गरी राखेको अभियोगमा म्याद थप गरी कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।