ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य, रोहितको अर्धशतक
काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको हो ।
नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । ६७ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे । यसअघि क्यानडाविरुद्धको खेलमा रोहितले शतक बनाएका थिए ।
त्यस्तै, अर्जुन कुमालले ५९ बलमा ४० रन, बसिर अहमद र डा. ईशान पाण्डेले समान ३७ रन बनाए । करण केसीले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४० रन जोडे । उनले ४९औँ ओभरमा हस्नैन अलीलाई लगातार तीन छक्का प्रहार गरेका थिए । करण इनिङ्सको अन्तिम बलमा रनआउट भए ।
ओमानका शाह फैसल, करण सोनावाले र शकील अहमदले समान दुई विकेट लिए भने हस्नैन शाहले एक विकेट लिए ।
नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याउँदै ओमानले अब जवाफी ब्याटिङ गर्नेछ ।