चाडपर्व लक्षित बजार अनुगमन तीव्र, उपत्यकामा ५० जना थप कर्मचारी परिचालन
काठमाडौं । दसैँ, तिहार तथा छठ पर्वका बेला बजारमा हुनसक्ने कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले बजार अनुगमन तीव्र बनाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउन तथा आपूर्ति व्यवस्था प्रभावकारी बनाउन अनुगमन बढाएको हो । विभागका महानिर्देशक रितेशकुमार शाक्यका अनुसार काठमाडौं उपत्यकामा नियमित अनुगमन टोलीबाहेक थप ५० जना कर्मचारी परिचालन गरिएको छ ।
विभागले वस्तुको मूल्य, गुणस्तर, मौज्दात र आपूर्तिको अवस्थाबारे अनुगमन गरिरहेको छ । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रदेशका सम्बन्धित निकायसमेत सहभागी छन् ।
विभागका अनुसार विपद्का कारण मुख्य राजमार्ग तथा उत्तरी नाकामा अवरोध हुँदा ग्यासलगायत केही उपभोग्य वस्तुको आपूर्तिमा असर परेको छ । चाडपर्वमा चिनी तथा मासुजन्य वस्तुको माग र मूल्यलाई ध्यानमा राख्दै सम्बन्धित निकायसँग समन्वय गरी अनुगमन भइरहेको छ ।
बजारमा अस्वाभाविक मूल्यवृद्धि, ठगी वा कृत्रिम अभाव सिर्जना गरेको पाइए कारबाही गरिने महानिर्देशक शाक्यले बताए । उपभोक्तालाई सामान खरिद गर्दा गुणस्तरमा ध्यान दिन, अनिवार्य रूपमा बिलबिजक लिन र समस्या देखिए विभागको हटलाइन वा ‘हेलो सरकार’ मार्फत उजुरी गर्न पनि आग्रह गरिएको छ ।