खुँडा प्रहारबाट एक जनाको मृत्यु
मुगुको छायानाथ रारा नगरपालिका–५ मा धारिलो हतियार (खुँडा) प्रहारबाट ७५ वर्षीय धनवीर कामीको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३२ वर्षीय अजविर कामीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार अजविर कामीले धनवीर कामीमाथि खुँडा प्रहार गरी घाइते बनाएका थिए। घाइते धनवीरलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका अभियुक्त अजविरलाई प्रहरीले आज रारा राष्ट्रिय निकुञ्जको जंगलबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। मृतक धनवीरको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।