‘प्यान्टोलोक–डीएसआर’ औषधिको एक ब्याच न्यून गुणस्तरको, बजारबाट फिर्ता गर्न निर्देशन
औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि., बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’ औषधिको एक ब्याच न्यून गुणस्तरको पाइएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त औषधिको बिक्री–वितरण रोक्का गरी बजारमा पुगेको औषधि फिर्ता गर्न उत्पादक उद्योग तथा प्रतिनिधिलाई निर्देशन दिएको हो।
विभागका अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा ब्याच नम्बर CPD–057 को औषधि निर्धारित गुणस्तरअनुसार नपाइएको हो।
उक्त ब्याचको उत्पादन मिति सेप्टेम्बर २०२५ र म्याद सकिने मिति अगस्ट २०२७ रहेको विभागले जनाएको छ।
प्रयोगशालामा गरिएको परीक्षणका क्रममा औषधिमा रहेको डम्पिरिडोनको डिजोलुसन टेस्ट निर्धारित मापदण्डअनुसार नपाइएपछि बिक्री–वितरण रोक्न तथा बजारबाट फिर्ता गर्न निर्देशन दिइएको विभागले जनाएको छ।