सभापति थापाद्वारा वडा अधिवेशन सार्ने प्रस्ताव कार्यसम्पादन समिति बैठकमा पेस
नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी र त्रिशूली बाढीबाट अति प्रभावित जिल्लाहरूमा तत्काल वडा अधिवेशन गर्न सक्ने अवस्था नरहेको भन्दै अधिवेशनको मिति सार्न प्रस्ताव गरेका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले रसुवा, नुवाकोट र धादिङ जस्ता बाढी प्रभावित जिल्लाहरूमा अहिलेको अवस्थामा राजनीतिक कार्यक्रम भन्दा पनि उद्धार र राहत प्राथमिकतामा रहेको बताएका हुन् ।
कांग्रेसले यसअघि भदौ २४ गते वडा अधिवेशन गर्ने गरी निर्वाचन समिति मार्फत कार्यतालिका सार्वजनिक गरेको थियो । तर, विपद्को गम्भीर अवस्थालाई मध्यनजर गर्दै थापाले यी जिल्लाहरूमा अधिवेशनको मिति परिमार्जन गर्न प्रस्ताव गरेका हुन् ।
बैठकमा थापाले भने, ‘हामीलाई वैधानिक बाध्यता छ, असोज १६ गते कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन काठमाडौँमा सुरु हुन्छ र यो तिथि परिवर्तन गर्न सक्ने सुविधा हामीसँग छैन । तर, बाढी र पहिरोले आक्रान्त पारेका रसुवा, नुवाकोट र धादिङमा अहिले वडा अधिवेशन गर्ने वातावरण मैले देखिनँ ।’
थापाले ती जिल्लाहरूको स्थलगत भ्रमणका क्रममा मानिसहरू आफ्ना आफन्त र घरबासको चिन्तामा रहेको उल्लेख गर्दै थपे, ‘रामेछाप र गोरखा जस्ता जिल्लाका मानिसहरू पनि आफ्ना हराइरहेका परिवारका सदस्य खोज्न बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । यस्तो मानवीय सङ्कटको घडीमा अधिवेशनमा जुट्न सम्भव छैन ।’
उनले १५ औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुसार नै अघि बढ्ने स्पष्ट पारे पनि बाढी प्रभावित क्षेत्रका तल्ला तहका अधिवेशनको मिति भने कार्यसम्पादन समितिमा छलफल गरी परिमार्जन गरिने बताएका छन् ।
अहिले कांग्रेसको कार्यसम्पादन समितिमा वडा अधिवेशनको नयाँ कार्यतालिका र विपद् व्यवस्थापनमा पार्टीको भूमिकाबारे छलफल जारी छ ।