परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट
परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच भेटवार्ता भएको छ । आइतबार मन्त्रालयमा भएको भेटवार्तामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यबारे छलफल भएको थियो ।
भेटमा मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा द्रुत उद्धार टोली तथा कोरियाली विपद् राहत टोली पठाउनुका साथै मानवीय सहायता र राहत सामग्री उपलब्ध गराएकोमा दक्षिण कोरिया सरकारप्रति आभार व्यक्त गरेको मन्त्रालयले बताएको छ ।
मन्त्री खनालले विपद्पछि दिगो र जोखिम प्रतिरोधी पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै आगामी पुनर्निर्माणमा समेत कोरियाको निरन्तर सहयोगको अपेक्षा गरेको बताए ।
दक्षिण कोरियाका विदेशमन्त्री ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न आफ्नो सरकार इच्छुक रहेको बताएको मन्त्रालयले जानकारी दिएको छ ।
उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको क्षतिप्रति विश्व समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका विषयमा नेपाल र दक्षिण कोरियाले अन्तर्राष्ट्रिय मञ्चमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने बताएका थिए ।
बाढीमा अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ९ जना दक्षिण कोरियाली नागरिक बेपत्ता भएका छन् । त्यसबारेमा पनि परराष्ट्रमन्त्री खनालसँग जानकारी लिएको बताइएको छ । दक्षिण कोरियाका कोरिया डिजास्टर रिलिफ टिम’ यतिखेर नेपालमा उद्धारमा खटिइरहेको छ ।