त्रिशूली–३ए सुरुङभित्रबाट मानिसको आवाज सुनिएको दाबी, उद्धार तीव्र
त्रिशूली–३ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यमा आशालाग्दो संकेत देखिएको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएपछि उद्धार कार्यलाई थप तीव्रता दिइएको छ।
उद्धार कार्यमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट मानिस बोलेको जस्तो आवाज सुनिएको जानकारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले बताएका छन्।
हाल नेपाली सेना र सशस्त्र प्रहरी बलका विशेष उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धारमा जुटिरहेका छन्।
उद्धारस्थलमै रहेका सांसद न्यौपानेले सामाजिक सञ्जालमार्फत सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी आएको उल्लेख गरेका छन्। उनले उद्धार कार्यलाई नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले तीव्र बनाइरहेको बताएका छन्।
उनले उद्धारमा खटिएका सुरक्षा निकाय तथा प्राविधिक टोलीप्रति सम्मान व्यक्त गर्दै सुरुङभित्र फसेका सबै व्यक्तिको सकुशल उद्धार हुने विश्वाससमेत व्यक्त गरेका छन्। उद्धार टोलीले सुरुङभित्रको अवस्था पहिचान गर्दै सम्भावित स्थानमा केन्द्रित भएर खोजी तथा उद्धार कार्य अघि बढाइरहेको छ।