फेवातालमा कायकिङ गर्दा डुबेका युवाको गोताखोर टोलीद्वारा उद्धार
पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका उदयपुरका २१ वर्षीय आयुष तामाङको सशस्त्र प्रहरीको टोलीले अचेत अवस्थामा उद्धार गरेको छ । पोखरा महानगरपालिका–६ स्थित तालबाराही मन्दिर पछाडि फेवातालमा घुम्न आएका तामाङ कायकिङ गर्ने क्रममा डुबेका थिए ।
घटनाको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.२४ गण हे.क्वा. कालिका फेवा रेस्क्यु टावरबाट टोली खटाइएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमान्डमा विपद् उद्धार टोली आवश्यक उद्धार सामग्रीसहित खोजतलासका लागि परिचालन भएको थियो ।
खोजतलासका क्रममा दिउँसो २ : ५० बजे तालको अन्दाजी ३० फिट गहिराइबाट गोताखोर टोलीले तामाङलाई अचेत अवस्थामा फेला पारी बाहिर निकालेको हो । उद्धार लगत्तै उनलाई थप उपचारका लागि दिउँसो २ : ५५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।