बेत्रावतीमा एउटै घरभित्र २२ जनाको शव फेला
विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटा घरभित्र २२ जनाको शव भेटिएको छ। सुरक्षाकर्मीको टोलीले सोमबार खोजी तथा उद्धारका क्रममा घरभित्रबाट ६ वटा शव निकालेको छ भने बाँकी १६ वटा शव मंगलबार निकालिने जनाइएको छ।
बुधबार बिहान रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले बेत्रावती बजारमा ठूलो क्षति पुर्याएको थियो। बाढी आएको छैटौँ दिनपछि सोमबार खोजी तथा उद्धारका क्रममा लेदोले पुरिएको उक्त घरभित्र ठूलो संख्यामा शव भेटिएका हुन्।
बाढीका बेला ती मानिसहरू उक्त घरमा भेला भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घरभित्र भेटिएका शवहरू पहिचान गर्न नसकिने अवस्थामा रहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले बेत्रावतीमा बाढीले पुरिएको एक घरभित्र ठूलो संख्यामा शव भेटिएको पुष्टि गरेका छन्। उनका अनुसार सोमबार केही शव निकालिएको छ भने बाँकी शव निकाल्ने तथा संकलन गर्ने काम मंगलबार गरिनेछ।
यसअघि बेत्रावतीका पत्रकार लक्ष्मण डंगोलले उक्त घरमा तत्काल खोजी गर्न माग गरेका थिए। उनले प्रमुख जिल्ला अधिकारीदेखि प्रधानमन्त्रीसम्मलाई उद्धार तथा खोजीका लागि आग्रह गरे पनि समयमै सुनुवाइ नभएको बताएका छन्।
घटनाले बाढीपछिको खोजी तथा उद्धारमा भएको ढिलाइप्रति गम्भीर प्रश्न उठाएको छ। मृतकहरूको पहिचान तथा घटनाको थप विवरण आउन बाँकी छ।