बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने ईयुको तयारी
युरोपेली सङ्घ (ईयु) ले बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने तयारी गरेको छ। ईयुकी प्रमुख उर्सुला भोन डेर लेयनले आगामी साता युरोपेली संसद्मा नाबालिगको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने योजना सार्वजनिक गर्ने तयारी गरेकी छन्।
ईयुले १३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने वा १५ वर्षभन्दा कम उमेरकालाई प्रतिबन्ध लगाउने विकल्पमाथि विचार गरिरहेको छ। फ्रान्सले १५ वर्षको उमेर सीमा प्रस्ताव गरेको छ भने विशेषज्ञ समूहले १३ वर्षमुनिका बालबालिकाका लागि प्रतिबन्ध सिफारिस गरेको छ।
अस्ट्रेलियाले किशोरकिशोरीको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि बेलायतलगायत अन्य युरोपेली मुलुकले पनि यस्तै व्यवस्था गर्ने तयारी गरिरहेका छन्।
तर बाल अधिकार तथा डिजिटल गोपनीयताका पक्षधरले उमेर सीमा तोक्ने योजनाको आलोचना गरेका छन्। उनीहरूले यस्तो प्रतिबन्धले बालबालिकाको अभिव्यक्ति, सूचना प्राप्त गर्ने अधिकार र सामाजिक सम्बन्धमा असर पार्न सक्ने चेतावनी दिएका छन्। १३२ संस्था तथा विज्ञले पूर्ण प्रतिबन्धको सट्टा ठूला प्रविधि कम्पनीलाई आफ्ना प्लेटफर्म सुरक्षित बनाउन बाध्य पार्न ईयुलाई आग्रह गरेका छन्।
ईयुले उमेर प्रमाणीकरणका लागि छुट्टै एप विकास गरिरहेको छ। उक्त प्रणालीले प्रयोगकर्ताको नाम वा जन्ममिति संकलन नगरी तोकिएको उमेर पुगेको वा नपुगेको मात्र पुष्टि गर्ने प्रविधि प्रयोग गर्ने जनाएको छ। यद्यपि, डिजिटल अधिकार समूहले यसबाट प्रयोगकर्ताको गोपनीयता प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
यसअघि विशेषज्ञहरूले एपको प्रारम्भिक नमूनामा सुरक्षा कमजोरी देखाएको बताएका थिए। सामाजिक सञ्जाल प्लेटफर्मलाई ईयुको एप नै प्रयोग गर्नुपर्ने बाध्यता नहुने भए पनि वैकल्पिक प्रणाली प्रयोग गर्दा प्रभावकारी उमेर प्रमाणीकरण र बाल सुरक्षा सुनिश्चित गरेको प्रमाणित गर्नुपर्नेछ।