भोटेकोशी बाढीमा बेपत्ता हुम्लाका चार जनाको पुत्ला बनाएर दाहसंस्कार
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका हुम्लाका चार जनाको काठमाडौंस्थित पशुपति आर्यघाटमा पुत्ला बनाएर दाहसंस्कार गरिएको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीमा हुम्लाका सात जना बेपत्ता भएका थिए। तीमध्ये चार जनाको भदौ २३ गते १३औँ दिनको पुण्यतिथिको अवसरमा आफन्तले हिन्दू धार्मिक संस्कारअनुसार पुत्ला बनाएर दाहसंस्कार गरेका हुन्।
दाहसंस्कार गरिएकामा अनिता रावत, जनक बुढा, कविता बुढा र रियान्सा बुढा रहेका छन्। अनिता र जनक खार्पुनाथ गाउँपालिका–१, गोप्काका तथा कविता र रियान्सा सर्केगाड गाउँपालिका–८ का बासिन्दा रहेको आफन्त भीमबहादुर रोकायाले जानकारी दिए।
उनका अनुसार बेपत्ता भएको १३ दिनसम्म पनि कुनै खबर नआएपछि धार्मिक परम्पराअनुसार उनीहरूको दाहसंस्कार गरिएको हो।
बाढीमा बेपत्ता सात जनामध्ये यसअघि एक जनाको शव फेला परिसकेको छ भने अन्य दुई जनाको अवस्था अझै अज्ञात रहेको रोकायाले बताए।