अमेरिकामा पेट्रोलको मूल्य ४.१४ डलर प्रतिग्यालोन पुग्यो
इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य उच्च स्तरमा पुगेको छ। महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनुका साथै दैनिक खर्चमा समेत थप दबाब परेको छ।
अमेरिकामा नियमित पेट्रोलको राष्ट्रिय औसत मूल्य प्रतिग्यालोन ४.१४ अमेरिकी डलर पुगेको छ। यो गत वर्षको तुलनामा झन्डै १ डलर बढी हो। सन् २०१२ मा कायम भएको ३.८२ डलरको औसत मूल्यलाई समेत पछिल्लो मूल्यले उछिनेको छ।
यद्यपि, अमेरिकामा पेट्रोलको सर्वकालीन उच्च राष्ट्रिय औसत मूल्य भने सन् २०२२ को जुनमा कायम भएको ५.०२ डलर प्रतिग्यालोन नै हो।
पेट्रोलको मूल्य बढेसँगै लामो दूरीको यात्रा गर्ने अमेरिकी परिवारको संख्या र यात्राको अवधि घट्न थालेको छ। पेन्सिलभेनियाकी निकोल कोलिन्सले साथीहरूलाई भेट्न दक्षिण क्यारोलिना जाने योजना बनाए पनि बढ्दो इन्धन खर्चका कारण यस गर्मीयाममा परिवारले विगतका वर्षको तुलनामा निकै कम यात्रा गरेको बताएकी छन्।
उनका अनुसार पेट्रोलको मूल्य वृद्धिले पारिवारिक बजेटमा दबाब बढाएको छ। विशेषगरी साना बच्चाको आवश्यकतामा समेत खर्च गर्नुपर्ने भएकाले इन्धनमा बढेको खर्च व्यवस्थापन गर्न कठिन भएको उनले बताएकी छन्।
डेलावेयरको क्लेमन्टस्थित एक पेट्रोल पम्पमा नियमित पेट्रोलको मूल्य प्रतिग्यालोन ४.१९९ डलरसम्म पुगेको थियो। अमेरिका र इजरायलले फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि पेट्रोलको मूल्य तीव्र रूपमा बढेको र त्यसपछि केही उतारचढाव आए पनि पुरानै स्तरमा फर्कन नसकेको समाचारमा उल्लेख छ।
विश्वको प्रमुख तेल ढुवानी मार्गमध्ये एक हर्मुज जलडमरूमध्यबाट कच्चा तेलको आवतजावतमा आएको ठूलो गिरावटलाई पेट्रोलको मूल्य वृद्धिको प्रमुख कारण मानिएको छ।