देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ। सुनसरी, रौतहट, सिन्धुली, पाल्पा, भक्तपुर, धादिङ र कास्कीमा भएका दुर्घटनामा उनीहरूले ज्यान गुमाएका हुन्।
सुनसरीको धरान उपमहानगरपालिका-८ गुँरास चोकमा सिटी सफारी र मोटरसाइकल ठोक्किँदा घाइते भएका इटहरीका ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरेको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ। प्रहरीले सिटी सफारी चालकलाई नियन्त्रणमा लिएको छ। रौतहटको गुजरा नगरपालिका-३ सिमरी जङ्गलस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा १८ वर्षीय सञ्जय घिसिङको मृत्यु भएको छ। दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-३ घण्टेमा मिनी ट्रकको ठक्करबाट पैदलयात्री ५० वर्षीय माइते राईको घटनास्थलमै मृत्यु भएको छ। सोही ट्रकमा अर्को मोटरसाइकलसमेत ठोक्किँदा घाइते भएका दुई जनाको मकवानपुरमा उपचार भइरहेको छ भने ट्रक चालक प्रहरी नियन्त्रणमा छन्।
यस्तै पाल्पाको तानसेन नगरपालिका-८ माथिल्लो डुम्रेमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २७ वर्षीय युवराज दर्लामीको मृत्यु भएको छ। घाइते पैदलयात्रीको बुटवलमा उपचार भइरहेको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सृजनानगरमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीया कृषा राजभण्डारीको मृत्यु भएको छ भने घाइते चालकको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।
धादिङको थाक्रे गाउँपालिका-१ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा चालक ३२ वर्षीय हरि तामाङ र सवार २० वर्षीय दिनेश तामाङको घटनास्थलमै मृत्यु भएको छ। यस्तै कास्कीको पोखरा महानगरपालिका-१० बुद्धचोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक २५ वर्षीय नवराज दर्जीको मृत्यु भएको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर सबै दुर्घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।