अमेरिका–इरान संघर्ष चर्कियो, थप तेल ट्यांकर ध्वस्त
अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ। अमेरिकी सेनाले आफ्ना युद्धपोतमाथि भएको क्षेप्यास्त्र आक्रमणको जवाफमा इरानका थप पाँचवटा तेल ट्यांकर ध्वस्त पारेको जनाएको छ।
अमेरिकी कारबाहीपछि इरानले पनि जोर्डनमा रहेका अमेरिकी सैन्य तथा रणनीतिक लक्ष्यलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ।
जोर्डनको सेनाका अनुसार उसको हवाई प्रतिरक्षा प्रणालीले जोर्डनतर्फ प्रहार गरिएका १८ वटा ब्यालेस्टिक क्षेप्यास्त्र आकाशमै नष्ट गरेको थियो। थप दुईवटा क्षेप्यास्त्र भने मानव बस्ती नभएका क्षेत्रमा खसेका थिए। घटनामा मानवीय क्षति नभएको जोर्डनले जनाएको छ।
अमेरिकाको निकट सहयोगी जोर्डनमा अमेरिकी सेनाको उपस्थिति रहेकाले त्यहाँ रहेका सैन्य अखडाहरू यसअघि पनि इरानी आक्रमणको निशानामा पर्दै आएका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने प्रयास गरिरहेका बेला ट्रम्प प्रशासनले इरानमाथि थप प्रतिबन्ध लगाएको छ। इरानलाई उसका बाँकी व्यापारिक साझेदारबाट अलग पार्ने प्रयासस्वरूप दुई दर्जनभन्दा बढी व्यावसायिक तथा निजी विमान सेवा र विदेशी मालवाहक सेवा प्रदायकलाई लक्षित गरिएको जनाइएको छ।
अमेरिका–इरान संघर्षमा होर्मुज जलडमरूमध्य महत्वपूर्ण रणनीतिक क्षेत्र बनेको छ। युद्ध सुरु हुनुअघि विश्वमा खपत हुने कुल तेलको करिब पाँच भागको एक भाग यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो।
होर्मुज क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत दबाब परेको छ। मंगलबार ब्रेन्ट कच्चा तेलको मूल्य केही समयका लागि प्रतिब्यारेल ९९.४६ अमेरिकी डलरसम्म पुगेको थियो।
यसअघि शनिबार पनि अमेरिकी सेनाले इरानका तीनवटा तेल ट्यांकर ध्वस्त पारेको थियो। इरानको इस्लामिक क्रान्तिकारी सुरक्षा बल (आईआरजीसी) ले अमेरिकी विमानवाहक तथा विध्वंसक युद्धपोतलाई लक्षित गर्दै ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणको प्रयास गरेपछि जवाफी कारबाही गरिएको अमेरिकी पक्षले जनाएको थियो।
लगातार भइरहेका आक्रमण र जवाफी सैन्य कारबाहीले अमेरिका–इरान संघर्ष थप गहिरिँदै जाने आशंका बढेको छ। होर्मुज जलडमरूमध्यमा अस्थिरता बढेमा विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय तेल बजारमा समेत गम्भीर असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।