सुपर सेती आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदारको मृत्यु
कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो खस्दा दुई कामदारको मृत्यु भएको छ।
पहिरोमा गम्भीर घाइते भएका धनकुटाको पाख्रीबास नगरपालिका–८ का २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राईको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुवै जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनामा इलाम घर भएका ३२ वर्षीय भक्तबहादुर मगर पनि घाइते भएका छन्। उनको मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको घुँडामा चोट लागेको छ।
शुक्रबार बिहान करिब ११ बजे आयोजनाको पहुँचमार्ग निर्माणका लागि सडक खन्ने काम भइरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो। पहिरोमा परेका कामदारलाई स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए।
सुपर सेती जलविद्युत् आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २४ मेगावाट क्षमताको जलविद्युत् आयोजना हो।