भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
काठमाडौं — प्रतिनिधिसभाको बैठकले भोटेकोशी बाढीबाट सिर्जित विपद्सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बुधबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको प्रस्तावलाई सांसदहरूले सर्वसम्मतिले पारित गरेका हुन्।
प्रस्ताव प्रस्तुत गर्दै सभामुख अर्यालले विपद्मा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा सम्बन्धित राष्ट्रप्रति समवेदना व्यक्त गरे। उनले घाइते नागरिकको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे।
सभामुख अर्यालले विपद्बाट प्रभावित नागरिकको आर्थिक तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराए। साथै प्रभावित नागरिकलाई आवश्यक सेवामा सहज पहुँचको व्यवस्था गर्न उनले आग्रह गरे।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको र त्यसको असर नेपालका हिमनदी तथा हिमतालमा समेत परिरहेको सभामुख अर्यालले उल्लेख गरे। जलवायु परिवर्तनबाट सिर्जित राष्ट्रिय सुरक्षा चुनौतीका विषयमा अन्तर्राष्ट्रियस्तरमा नेपालले आफ्नो मुद्दा स्थापित गर्न आवश्यक रहेको उनले बताए।
जलवायु परिवर्तनबाट सिर्जित क्षति तथा नोक्सानीसम्बन्धी अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्ना विषय अझ स्पष्ट र बलियो रूपमा उठाउनुपर्नेमा जोड दिँदै उनले सरकारको ध्यानाकर्षण गराए।
सभामुख अर्यालले भने, “रसुवा विपद्ले हामीलाई महत्त्वपूर्ण पाठ सिकाएको छ। विपद्पछिको व्यवस्थापनमात्र होइन, पूर्वतयारीको संस्कृति निर्माण गर्नुपर्दछ। हिमताल र हिमनदीको नियमित अनुगमन प्राथमिकतामा राख्नुपर्दछ।”
उनले तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज तथा राज्यका सम्पूर्ण संयन्त्र र स्रोत परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरे। साथै विस्थापित नागरिकको शीघ्र पुनःस्थापनाका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरे।
भोटेकोशी बाढीको विपद्मा परी दिवङ्गत भएका नागरिकको आत्माको चिरशान्तिको कामना गर्दै प्रतिनिधिसभा बैठकमा एक मिनेट उभिएर मौनधारणसमेत गरिएको थियो। प्रतिनिधिसभाको अर्को बैठक भदौ १८ गते दिउँसो १ बजे बस्नेछ।