गोरखामा थेराङ खोलाको बाढीले चार घर र पुल बगायो
गोरखाको हिमाली क्षेत्र चुमनुब्री गाउँपालिका–२ र ४ भएर बग्ने थेराङ खोलामा आएको बाढीले चार घर र एक झोलुङ्गे पुल बगाएको छ।
आइतबार बिहान आएको बाढीले चुमनुब्री गाउँपालिका–४ का नुर्वु छिरिङ, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनका घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बाढीबाट घरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
बाढी आएको थाहा पाएपछि स्थानीयवासी समयमै सुरक्षित स्थानतर्फ भागेकाले मानवीय क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए। बाढीले सोही क्षेत्रमा रहेको झोलुङ्गे पुलसमेत बगाएको छ।
पुल बगाएपछि मनास्लु पदयात्रामा रहेका पर्यटकको आवतजावत प्रभावित भएको छ। चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार तत्कालका लागि स्थानीयस्तरबाट पैदल आवतजावत गर्न मिल्ने वैकल्पिक व्यवस्था गर्ने प्रयास भइरहेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार खोलाको मुहानतर्फ केही समय पानी थुनिएपछि लेदोसहित अचानक बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। थेराङ खोला बूढीगण्डकी नदीमा मिसिने भएकाले बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।
प्रहरी तथा स्थानीय तहले क्षतिको थप विवरण संकलन गरिरहेका छन् भने बाढीबाट अवरुद्ध भएको आवतजावत सहज बनाउन आवश्यक पहल भइरहेको जनाइएको छ।