नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा राअवि अधिकारी केसीविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको र सोही प्रमाणपत्रका आधारमा पटक–पटक बढुवा लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केसीविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
राज्यका सुरक्षा निकायमा कार्यरत कर्मचारीले सेवा प्रवेश तथा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको सम्बन्धमा परेको उजुरीमाथि अनुसन्धान गर्दा केसीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएको अख्तियारले जनाएको छ।
आयोगका अनुसार केसीले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाईस्कुल एन्ड इन्टरमिडिएट एजुकेसन, यूपी) बाट जारी भएको भनिएको हाईस्कुल परीक्षाको नक्कली प्रमाणपत्र पेस गरी राअविमा सहायक निरीक्षक पदमा सेवा प्रवेश गरेका थिए।
त्यसपछि उनले सोही प्रमाणपत्रका आधारमा विभिन्न समयमा बढुवा लिएको अख्तियारको दाबी छ। केसी २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत र २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएको आयोगले जनाएको छ।
नक्कली प्रमाणपत्रका आधारमा सेवा प्रवेश तथा बढुवा लिई उनले नियमित हैसियत, तलब, भत्ता र अन्य सरकारी सुविधा उपभोग गरेको अख्तियारको आरोप छ।
आयोगले केसीको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको जिकिर गरेको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आयोगले केसीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय मागदाबी गरेको छ।