११ दिनपछि घरको भग्नावशेषबाट एक महिलाको जीवितै उद्धार
नुवाकोटको बेत्रावतीमा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोका कारण घर पुरिएको ११ दिनपछि एक महिलालाई जीवितै उद्धार गरिएको छ।
विदुर नगरपालिका–१० बेत्रावतीस्थित आफ्नै घरको चौथो तलामा पुरिएकी ५५ वर्षीया चण्डिका श्रेष्ठलाई शनिबार सशस्त्र प्रहरी बलको टोलीले जीवितै उद्धार गरेको हो।
उद्धारपछि चण्डिका बोल्न सक्ने अवस्थामा रहेको र सुरक्षाकर्मीले पानी खुवाउँदा उनले पानीसमेत पिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ।
चण्डिकाका श्रीमान् आनन्द श्रेष्ठका अनुसार उनी ५५ वर्षकी हुन्।
नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार पहिरोले आधा पुरिएको घरभित्रबाट मानिसले आवाज निकालेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि घरको भग्नावशेष हटाएर खोजी गर्दा चण्डिकालाई जीवितै फेला पारिएको हो।
सशस्त्र प्रहरीका इन्सपेक्टर सुमन विकको कमान्डमा रहेको टोलीले उनलाई उद्धार गरेको हो। उद्धारपछि सुरक्षाकर्मीले पानी खुवाएका थिए। उनले पानी पिएपछि उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्थानीयमा खुसी छाएको थियो।
भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोका कारण बेत्रावतीसहित नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढी आएको ११ दिनपछि घरको भग्नावशेषबाट चण्डिका जीवितै भेटिनुलाई असाधारण घटनाका रूपमा लिइएको छ।