भोटेकोशी बाढी पीडितका लागि मेडवेमा दीप प्रज्वलन र राहत संकलन
नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडितहरूको राहत तथा पुनर्निर्माणमा सहयोग पुर्याउन बेलायतको मेडवेमा विशेष कार्यक्रम गरिएको छ।
गोर्खा नेपाली समाज मेडवेको आयोजनामा ६ सेप्टेम्बर २०२६ का दिन जिलिङ्घामस्थित स्थानीय हिन्दू मन्दिरमा शोकसभा तथा सहानुभूति कार्यक्रम आयोजना गरिएको हो।
नेपालको भोटेकोशी लगायतका क्षेत्रमा आएको प्रलयकारी बाढीको क्षतिप्रति संवेदनशील हुँदै आयोजकले पूर्वनिर्धारित तीज कार्यक्रम स्थगित गरेर उक्त श्रद्धाञ्जली सभाको आयोजना गरे। नेपाली र ब्रिटिश राष्ट्रिय गानका साथै दुई मिनेट मौन धारण गरी सुरु भएको कार्यक्रममा नेपाली पण्डित संघ युकेका सदस्य पण्डित वासुदेव सापकोटाले पूजा तथा स्वस्ति वाचन गरे।
कार्यक्रममा मेडवेका काउन्सिल लिडर भिन्स मेपल, डेपुटी लिडर टेरेसा मुरे, डेपुटी लेफ्टिनेन्ट डा. गिल फार्गर, पूर्वमेयर एवं काउन्सिलर निना गुरुङ, एमडिएफ अध्यक्ष रूपा सेन, एमडिएफ निर्देशक एवं गोर्खा नेपाली समाज मेडवेका संस्थापक अध्यक्ष शिव राई र किरात राई यायोक्खा मेडवेका अध्यक्ष सूर्य विक्रम राई लगायतका स्थानीय जनप्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो।
बेलायती प्रतिनिधिसभा सदस्य ट्रिस्टन ओसबोर्न, नौसभा खान र लरेन एडवार्डस् विशेष कारणवश उपस्थित हुन नसके पनि लिखित तथा भिडियो सन्देश पठाउँदै बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे। उनीहरूले बेलायतको तर्फबाट नेपाललाई आवश्यक सहयोग र ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गरे। मेडवेका मेयर काउन्सिलर डगलस हामान्डिश र हाइ काउन्टी सेरिफ मार्टिन लुकहर्स्टले पनि कार्यक्रमप्रति आफ्नो समर्थन जनाए।
उनले बेलायतका तर्फबाट नेपालको प्रधानमन्त्री राहत कोषमा सक्दो सहयोग गर्न आग्रह गरे। बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि ब्रिटिश सेनामा कार्यरत दक्ष गोर्खा इन्जिनियरहरू पठाउन सम्बन्धित निकायमा सुझाव दिइसकेको जानकारी उनले दिए।
नेपाली मूलकी पहिलो बेलायती मेयर काउन्सिलर निना गुरुङले गोर्खाली इन्जिनियरहरूलाई आफ्नै मातृभूमिको पुनर्निर्माणमा खटाउन पाए त्यसले भावनात्मक र प्राविधिक रूपमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिन्।
डेपुटी काउन्सिल लिडर टेरेसा मुरेले कार्बन उत्सर्जनमा नेपालको भूमिका नगण्य रहे पनि जलवायु परिवर्तनको प्रलयकारी असर भोग्नुपरेको प्रति चिन्ता व्यक्त गरिन्। विश्वका ठूला र बढी प्रदूषण फैलाउने राष्ट्रहरूले नेपालजस्ता देशलाई सामान्य सहायता मात्र नभई निश्चित क्षतिपूर्ति दिनुपर्ने विचार उनले राखिन्। तत्काल कार्बन उत्सर्जन घटाउनुपर्नेमा उनले जोड दिइन्।
कार्यक्रमका क्रममा संकलन भएको राहत रकमको चेक नेपालको प्रधानमन्त्री राहत कोषमा दाखिला गर्ने गरी गोर्खा नेपाली कम्युनिटीका अध्यक्ष ज्ञानेन्द्र राईलाई हस्तान्तरण गरियो। नेपालका लागि बेलायत सरकारले घोषणा गरेको ५ मिलियन पाउण्ड बराबरको आपत्कालीन सहायताप्रति पनि आयोजकका तर्फबाट आभार व्यक्त गरियो।
केन्ट क्षेत्रभरि राहत कोष संकलनमा सक्रिय पूर्वमेयर निना गुरुङ, मन्दिर व्यवस्थापन समिति, खाद्यान्न उपलब्ध गराउने गोर्खा फायर, आवश्यक सामग्री सहयोग गर्ने शिव राई, र मुस्लिम समुदाय लगायत सम्पूर्ण सहयोगी हातहरूप्रति आयोजकका तर्फबाट अध्यक्ष ज्ञानेन्द्र राईले धन्यवाद दिए।
कार्यक्रमको समापनमा नेपालको राष्ट्रिय झण्डाको वरिपरि दीप प्रज्वलन गरी बाढी–पहिरोमा ज्यान गुमाएका मृतकहरूको आत्माको शान्तिको कामना गरियो।