भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन
काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ।
त्यस्तै, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढी तथा विपद्का कारण ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका तीन जना राष्ट्रसेवक कर्मचारी रहेका छन्।
हालसम्म २७९ जना घाइते भएका छन्। उपचारपछि विभिन्न अस्पतालबाट १६८ जना डिस्चार्ज भइसकेका छन्।
यस्तै, विपद् प्रभावित विभिन्न स्थानबाट हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
खोजी, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन हालसम्म २१ हजार ११ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली प्रभावित क्षेत्रमा खोजी तथा उद्धारमा खटिएको छ।
बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सम्पर्कविहीनको खोजी तथा शवको पहिचान र व्यवस्थापनको कामसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।