ट्रकको ठक्करबाट पोखरामा मोटरसाइकल चालकको मृत्यु
पोखराको बुद्धचोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको अर्जुनचौपारी–५ निवासी २५ वर्षीय नवराज दर्जी रहेका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत बुधबार दिउँसो करिब १२ बजेर ५० मिनेटमा दुर्घटना भएको हो । पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको पल्सर मोटरसाइकललाई बुद्धचोकमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक दर्जी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा चिकित्सकले दिउँसो २ बजेर २२ मिनेटमा उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले ट्रक र चालक सिन्धुलीको कमलामाई–८ निवासी ३६ वर्षीय खडकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।