रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३५५ पुग्यो
रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म १ हजार ३५५ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमा मानव अङ्गसमेत समावेश छन्।
प्राधिकरणका अनुसार हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेका छन्।
बाढीका कारण हालसम्म करिब ४ हजार ९९६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। तीमध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट करिब १ हजार ९६७ जना र नुवाकोटबाट करिब २ हजार ३४० जना नेपाली नागरिक सम्पर्कविहीन रहेको विवरण अद्यावधिक गरिएको छ।
त्यस्तै, सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० जना र विदेशी नागरिक करिब ५८९ जना सम्पर्कविहीन रहेको प्राधिकरणको तथ्याङ्क छ।
यसबीच बाढी प्रभावित क्षेत्रमा फसेका १३ हजार ३९६ जनाको उद्धार गरिएको छ। बाढीमा परी घाइते भएका ६ हजार ६७२ जनाको उपचार गरिएको प्राधिकरणले जनाएको छ। विभिन्न अस्पतालमा उपचार गरिएका ३२३ जनामध्ये २२८ जना उपचारपछि घर फर्किएका छन्।
प्रभावित क्षेत्रमा स्थापना गरिएका ३९ वटा होल्डिङ सेन्टरमा ३ हजार ५३३ जना बाढी प्रभावित रहेका छन्। तीमध्ये रसुवामा ६६९, नुवाकोटमा २ हजार ६५१ र धादिङमा २१३ जना रहेका छन्।
उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनका लागि बाढी प्रभावित क्षेत्रमा २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी खोज, उद्धार तथा राहत कार्यमा परिचालित छन्। प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको छ।