बाढीपीडितको राहतका लागि एभरेस्ट स्कुल परिवारको ९ लाख ५ हजार रुपैयाँ सहयोग
एभरेस्ट इङ्लिस स्कुल र एभरेस्ट भक्तपुर स्कुलले संयुक्त रूपमा हालैको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ९ लाख ५ हजार ३ सय ४ रुपैयाँ राहत सहयोग गरेका छन्।
जिल्ला प्याब्सन भक्तपुरले स्कुललाई पठाएको पत्र अनुसार दुवै विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट सङ्कलित रकम राहत तथा मानवीय सहयोगका लागि जिल्ला प्याब्सनको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको खातामा जम्मा गरिएको हो।
बाढीबाट पीडित परिवारलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले शिक्षक, कर्मचारी र विद्यार्थीबाट उक्त रकम सङ्कलन गरिएको विद्यालय प्रशासनले जनाएको छ। रकम बैंक खातामा जम्मा गरेपछि बैंक भौचरसमेत जिल्ला प्याब्सनको कार्यालयमा जानकारीका लागि पठाइएको छ। यो पत्रको व्यहोरा नगर शिक्षा भक्तपुर, केन्द्रीय प्याब्सन काठमाडौँ र नगर प्याब्सन भक्तपुरलाई बोधार्थसमेत पठाइएको छ।
विद्यालयले दिएको विवरण अनुसार एभरेस्ट इङ्लिस स्कुलबाट ६ लाख २३ हजार ४४ रुपैयाँ र एभरेस्ट भक्तपुर स्कुलबाट २ लाख ८२ हजार २ सय ६० रुपैयाँ सङ्कलन भएको छ। दुवै विद्यालयको रकम जोड्दा कुल ९ लाख ५ हजार ३ सय ४ रुपैयाँ पुगेको जानकारी एभरेस्ट इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी र एभरेस्ट भक्तपुर स्कुलकी संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीद्वारा जारी संयुक्त पत्रमा उल्लेख छ।
दुवै स्कुल हाल संयुक्त रूपमै भक्तपुर नगरपालिका वडा नं २ मिबाछैँ व्यासीमा सञ्चालित छन्। एभरेस्ट इङ्लिस स्कुल सन् १९८३ मा स्थापना भएको विद्यालय हो।