संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा अधिवेशन सुरु
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन औपचारिक रूपमा सुरु भएको छ। संयुक्त राष्ट्रसंघीय महासभाका नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा अधिवेशनको उद्घाटन गरेका हुन्।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष रहमानले संयुक्त राष्ट्रसंघका लागि आफूले महत्वपूर्ण र चुनौतीपूर्ण समयमा जिम्मेवारी सम्हालेको बताए। संयुक्त राष्ट्रसंघ स्थापनाको नवौँ दशकमा प्रवेश गरिरहँदा विगतका उपलब्धि महत्वपूर्ण भए पनि विश्वले गम्भीर चुनौतीहरूको सामना गरिरहेको उनको भनाइ थियो।
विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वले ठूलो मानवीय पीडा निम्त्याइरहेको, विकासका उपलब्धि कमजोर तथा अस्थिर बन्दै गएको र जलवायु परिवर्तनका असर तीव्र रूपमा बढिरहेको उनले बताए।
रहमानले यस्ता चुनौतीले बहुपक्षीयताप्रतिको विश्वासमा ठूलो दबाब सिर्जना गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय संस्था र सामूहिक प्रयासप्रतिको घट्दो विश्वासलाई संवाद, सहकार्य र प्रभावकारी काममार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिए।
उनले आफ्नो कार्यकालको मुख्य प्रतिबद्धता संयुक्त राष्ट्रसंघप्रति पुनः विश्वास निर्माण गर्नु रहेको बताए। ८१औँ महासभाको मुख्य विषय ‘विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन : सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ तय गरिएको छ।
यस अधिवेशनमा शान्ति तथा सुरक्षा सुदृढीकरण, दिगो विकासलाई तीव्रता, जलवायु परिवर्तनविरुद्धको कार्यलाई प्रभावकारी बनाउने, मानवअधिकारको प्रवर्द्धन, प्रविधिगत रूपान्तरणलाई जनमुखी बनाउने तथा बहुपक्षीयताप्रति विश्वास पुनर्स्थापना गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
रहमानले सन् १९४५ को तुलनामा वर्तमान विश्व निकै फरक भइसकेकाले संयुक्त राष्ट्रसंघले आफ्नो मूल मूल्य र बडापत्रप्रतिको प्रतिबद्धता कायम राख्दै संस्थागत सुधार र समयअनुकूल विकास गर्नुपर्ने बताए।
यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले वर्तमान अशान्तिपूर्ण विश्व परिस्थितिमा विश्वव्यापी समस्या समाधान गर्ने बहुपक्षीय प्रणालीको भूमिका झनै महत्वपूर्ण बनेको बताएका छन्।
गुटेरेसले द्वन्द्व, विश्वव्यापी विभाजन, आणविक तनावको जोखिम, गरिबी तथा असमानता, बढ्दो जलवायु संकट, कृत्रिम बुद्धिमत्ताबाट सिर्जित अवसर तथा जोखिम र दिगो विकासका लक्ष्य हासिल गर्न भइरहेको सुस्त प्रगतिलाई प्रमुख चुनौतीका रूपमा औँल्याए।
उनका अनुसार विश्वमा विस्थापित मानिसको संख्या उच्च स्तरमा पुगेको छ भने मानवीय पीडा बढ्दै गएको र सहायता तथा विकासका लागि उपलब्ध स्रोत घट्दै गएको छ। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय वित्तीय संरचनालगायत बहुपक्षीय संस्थाहरूले समेत वर्तमान चुनौती सामना गर्न कठिनाइ भोगिरहेको उनले बताए।
अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको बारम्बार उल्लंघन भइरहेको तथा भूराजनीतिक अविश्वासका कारण प्रभावकारी अन्तर्राष्ट्रिय समाधानमा अवरोध सिर्जना भएको गुटेरेसको भनाइ थियो।
उनले अध्यक्ष रहमानको नेतृत्वमा महासभाले कूटनीति, संवाद र सहकार्यका माध्यमबाट विश्व राजनीतिमा कमजोर हुँदै गएको विश्वास र सद्भाव पुनर्निर्माण गर्ने आशा व्यक्त गरे।
गुटेरेसले ‘भविष्यका लागि सम्झौता’ र ‘संयुक्त राष्ट्रसंघ–८० पहल’ लाई संयुक्त राष्ट्रसंघको भविष्यका लागि सुधार तथा कार्ययोजनाको आधारका रूपमा प्रस्तुत गर्दै ८१औँ महासभाले ती प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। उनले विश्वका चुनौती सामना गर्न संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।