नेपालमा राहत तथा उद्धारका लागि भारतले पठायो पाँचौँ सैन्य विमान
काठमाडौं — छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा राहत कार्यका लागि पाँचौँ सैन्य विमान पठाएको छ।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत भारतबाट राहत सामग्रीसहितको पाँचौँ विमान नेपालका लागि प्रस्थान गरेको जानकारी दिएका छन्।
जयशंकरका अनुसार भारतीय वायुसेनाको उक्त विमानमा ११ जना विज्ञ सम्मिलित उद्धार टोली, अत्याधुनिक खोज तथा उद्धार उपकरण तथा ५.५ टन अत्यावश्यक औषधि पठाइएको छ।
नेपालको भोटेकोशी क्षेत्रमा आएको भीषण विपद्पछि भारतले उद्धार तथा राहत सामग्री नेपाल पठाउने कार्यलाई तीव्रता दिएको हो। यसअघि पनि भारतले विभिन्न विमानमार्फत उद्धार टोली, राहत सामग्री तथा चिकित्सकीय टोली नेपाल पठाइसकेको जनाएको छ।
नेपालमा अवतरणपछि राहत सामग्री तथा उद्धार टोलीलाई सम्बन्धित प्रभावित क्षेत्रसम्म पुर्याउन आवश्यक समन्वय भइरहेको छ। भारतीय सहयोगले विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।