इरानद्वारा जोर्डनस्थित अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहारको दाबी
इरानले अमेरिकी आक्रमणको जवाफस्वरूप जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। पछिल्लो घटनासँगै करिब छ महिनादेखि जारी अमेरिका–इरान द्वन्द्वमा पुनः तनाव बढेको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले जोर्डनमा रहेका दुई अमेरिकी हवाई अखडालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गर्दा ठूलो क्षति पुगेको दाबी गरेको छ। तर, जोर्डनको सेनाले आठवटा क्षेप्यास्त्रलाई लक्ष्यमा पुग्नुअघि नै निष्क्रिय पारेको जनाएको छ।
यसअघि आइतबार अमेरिकाले होर्मुज जलसन्धिमा रहेको एउटा सानो टापुमा इरानी रकेट प्रक्षेपण केन्द्रलाई लक्षित गर्दै सैन्य कारबाही गरेको थियो। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार जलसन्धिमा तत्काल खतरा उत्पन्न गरिरहेका आईआरजीसीका समुद्री बारुदी सुरुङ बिछ्याउने फौजविरुद्ध सीमित र सटीक कारबाही गरिएको हो।
अमेरिकी सेनाका अनुसार होर्मुज जलसन्धिको अन्तर्राष्ट्रिय जलमार्गमा बिछ्याइएका समुद्री बारुदी सुरुङ हटाउने काम गत साता पूरा भएको थियो। इरानलाई पुनः त्यस्ता सुरुङ बिछ्याउनबाट रोक्ने उद्देश्यले पछिल्लो कारबाही गरिएको अमेरिकी पक्षको भनाइ छ।
आईआरजीसीले अमेरिकी आक्रमणमा क्षति पुगेको पुष्टि गर्दै जोर्डनस्थित अमेरिकी सैन्य अखडामाथिको क्षेप्यास्त्र प्रहार त्यसैको प्रतिकार भएको जनाएको छ।
अमेरिका–इरान युद्ध छ महिना पुगेका बेला पछिल्लो घटनाक्रम भएको हो। यसअघि केही समय शत्रुतापूर्ण गतिविधि मत्थर हुँदै गएको देखिए पनि नयाँ आक्रमणले तनाव पुनः बढाएको छ। युद्ध अन्त्यका लागि पाकिस्तान र कतारलगायतका मध्यस्थकर्ताले कूटनीतिक प्रयास जारी राखेका छन्।
यसैबीच, होर्मुज जलसन्धिमा जारी अवरोधले विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत असर पारेको छ। अमेरिकी आक्रमणको खबरपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै ब्रेन्ट तेल प्रतिब्यारेल ९० अमेरिकी डलर तथा डब्ल्यूटीआई ८५ डलरभन्दा माथि पुगेको बताइएको छ।
लामो समयदेखि जारी युद्धप्रति अमेरिकी जनतामा असन्तुष्टि बढ्दै गएको बताइएको छ। आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीमाथि थप राजनीतिक दबाब सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ। अमेरिकी सिनेटर ज्याक रीडले पनि युद्धपछि स्पष्ट उद्देश्य हासिल हुन नसकेको भन्दै ट्रम्प प्रशासनको सैन्य नीतिको आलोचना गरेका छन्।