बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न एमाले अध्यक्ष ओली गल्छी प्रस्थान
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा राहत र उद्धार कार्यको अनुगमन गर्न बुधबार धादिङको गल्छीतर्फ प्रस्थान गरेका छन्।
अध्यक्ष ओलीसँगै एमाले महासचिव शङ्कर पोखरेल तथा नेताहरू प्रदीप ज्ञवाली, महेश बस्नेतलगायत पनि गल्छीतर्फ प्रस्थान गरेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन्।
बाढी प्रभावित क्षेत्रमा एमाले निकट जिफन्ट, अनेरास्ववियु, भूतपूर्व सेना–प्रहरी संगठन, रिटर्नी फेडेरेसनलगायतका स्वयंसेवकहरूको टोली उद्धार, राहत तथा सहयोगका कार्यमा सक्रिय रूपमा खटिएको एमालेले जनाएको छ।
अध्यक्ष ओलीको टोलीले प्रभावित क्षेत्रको स्थलगत अवस्था, उद्धार तथा राहत कार्यको प्रगति र प्रभावित नागरिकको अवस्थाबारे जानकारी लिने बताइएको छ।