फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु
भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। घटनामा अन्य दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार मंगलबार बिहान बेलगावी जिल्लाको सेन्ट्रल बस स्ट्यान्डनजिकै रहेको चाभाट गल्लीमा परिवार बस्दै आएको घरमा फ्रिज विस्फोट भएको हो।
विस्फोटपछि लागेको आगलागीमा परी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा घाइते भएका दुई जनाको शरीरमा करिब ६० प्रतिशतसम्म जलेको बताइएको छ। उनीहरूको उपचार भइरहेको छ।
घटनाका सम्बन्धमा प्रहरीले मुद्दा दर्ता गरी फ्रिज विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको जनाएको छ।