फिलिपिन्समा निर्वाचनअघि गोलीकाण्ड, तीन जनाको मृत्यु
फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रमा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार आइतबार मध्यरातअघि कोटाबाटो सहरस्थित एक मतदान केन्द्रमा घटना भएको हो। मतदानका लागि लाइनमा बस्ने विषयमा प्रतिद्वन्द्वी राजनीतिक समूहका समर्थकबीच विवाद भएपछि धकेलाधकेल र हात हालाहाल भएको थियो।
विवाद बढ्दै गएपछि गोली चलेको प्रहरीले जनाएको छ। गोलीकाण्डपछि मतदान केन्द्र आसपासको सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
यो घटना बाङ्सामोरो स्वायत्त क्षेत्रको पहिलो निर्वाचित संसद् चयनका लागि सोमबारदेखि सुरु भएको निर्वाचनको पूर्वसन्ध्यामा भएको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार निर्वाचनमा २० लाखभन्दा बढी मतदाता मतदानका लागि योग्य छन्।
निर्वाचनमा १३ राजनीतिक दलका उम्मेदवार ८० संसदीय सिटका लागि प्रतिस्पर्धामा छन्। लामो समयदेखि द्वन्द्व र राजनीतिक अस्थिरताको प्रभाव भोग्दै आएको बाङ्सामोरो क्षेत्रमा पहिलो निर्वाचित संसद्को निर्वाचनलाई महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।
निर्वाचनलाई लक्षित गर्दै पछिल्ला दिनमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान केन्द्रहरूको सुरक्षाका लागि २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्भावित हिंसात्मक घटनाको तत्काल सामना गर्न द्रुत प्रतिक्रिया टोलीसमेत परिचालन गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्।