रसुवा भोटेकोशी हाइड्रोमा १ जनाको शव फेला
रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ।
ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको शव भेटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। १२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत् आयोजना चिनियाँ कम्पनीले निर्माण गरिरहेको थियो।
टिमुरेस्थित रसुवागढी जलविद्युत आयोजनाको टनेलमा आयोजनाका प्रतिनिधिहरू र सेनाका उद्धारकर्मीहरु पावर हाउसको कन्ट्रोल रुमसम्म पुगेर खोजी गरिरहेका छन् ।
लाङटाङ जलविद्युत आयोजनामा पनि सेनाले उद्धार कार्य जारी राखेको छ । चिलिमे जलविद्युत आयोजनामा विदेशी सहितका उद्धारकर्मीहरुले ६ मिटरका ठुला पाइप प्रयोग गरेर हिँड्न मिल्ने बाटो तयार गरेका छन् ।
स्याफ्रुबेँशीदेखी चिलिमेको टनेलसम्म हेभी उपकरण लैजान सडकमा रहेको ठुलो ढुंगालाई उद्धारकर्मीहरूले विस्फोट गरेर हटाएका छन् । चिलिमेको टनेलमा डेब्रिज हटाउँदै उद्धारकर्मी ११५ मिटरभित्र प्रवेश गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
अपर त्रिशूली–१ मा संयुक्त उद्धारकर्मीहरूले ४ सय मिटर मित्र प्रवेश गरेर खोजी गरिरहेका छन् । त्रिशूली–३ ए को पावरहाउस तथा टनेलमा खोज तथा उद्धारका लागी ३४ सैनिक ४ जना सशस्त्र र आयोजनाका प्रतिनिधिहरू खटिएका छन् ।
त्रिशूली–३ बि मा १०१ जना सैनिक उद्धारकर्मी र आयोजना प्रतिनिधिसहितको टोलीले खोज जारी राखेको सेनाले जनाएको छ । सो आयोजनामा २३ फिट गहिराइसम्म खन्दा पनि आयोजनाको कार्यालय र आवास गृह क्षेत्र भेटिएको छैन।