रसुवागढी मार्ग अवरुद्ध भएपछि केरुङका सामान कोरला नाकाबाट ल्याइँदै
भोटेकोशी नदीमा आएको भीषण बाढीले सडक, पुल तथा रसुवागढी क्षेत्रका भौतिक संरचना ध्वस्त भएपछि चीनको केरुङमा भण्डारण गरिएका नेपाली व्यापारीका सामान कोरला नाकाबाट नेपाल ल्याउन थालिएको छ।
बाढीका कारण रसुवागढी–काठमाडौं सडकमार्ग सञ्चालनमा आउन समय लाग्ने भएपछि केरुङका गोदाममा रहेका ४०० भन्दा बढी कन्टेनरका सामान वैकल्पिक मार्गबाट ढुवानी गर्न सुरु गरिएको ‘मुसा ट्रान्सपोर्ट’ले जनाएको छ।
ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार दसैँ–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा नेपालमा आवश्यक सामानको आपूर्ति सहज बनाउन कोरला नाका हुँदै ढुवानी तीव्र पारिएको हो।
बाढीका क्रममा रसुवागढी–त्रिशूली सडकखण्डमा रहेका कैयौँ कन्टेनर बगाउँदा ठूलो जनधनको क्षति भएको थियो। ज्याङका अनुसार उनको कम्पनीले चिनियाँ उत्पादकबाट नेपाली व्यवसायीका लागि खरिद गरिएका सामान सीमावर्ती नाकासम्म ढुवानी गर्दै आएको छ।