चीनमा पहिरोमा एक जनाको मृत्यु, ११ बेपत्ता
पूर्वी चीनको जियाङ्सी प्रान्तस्थित जियान सहरको सुइचुआन काउन्टीमा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन्।
शनिबार बिहान करिब ४ बजे गाउँमा पहिरो गएको हो। केही दिनदेखि भइरहेको मुसलधारे वर्षा र ‘साउदेल’ आँधीका कारण पहिरो गएको स्थानीय अधिकारीहरूले बताएका छन्। पहिरोमा परेका दुई जनालाई जीवितै उद्धार गरिएको छ भने उनीहरूको अवस्था स्थिर रहेको जनाइएको छ।
बेपत्ताको खोजी तथा उद्धारका लागि ६४० भन्दा बढी उद्धारकर्मी घटनास्थलमा परिचालन गरिएको छ। सडक क्षतिग्रस्त भएकाले उद्धार टोली वैकल्पिक पहाडी बाटो हुँदै घटनास्थल पुगेका थिए। उद्धारमा ड्रोन, जीवन पहिचान गर्ने उपकरण तथा तालिमप्राप्त कुकुरको प्रयोग भइरहेको छ।
पहिरोपछि गाउँका ३९ जनालाई सुरक्षित स्थानमा सारिएको छ भने जोखिमलाई ध्यानमा राख्दै आसपासका क्षेत्रका ५ हजार ३ सयभन्दा बढी बासिन्दालाई समेत स्थानान्तरण गरिएको छ। अवरुद्ध सडक र विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोली परिचालन गरिएको छ।
विपद्का कारण जियाङ्सी प्रान्तका करिब १ लाख ६१ हजार ५ सय मानिस प्रभावित भएका छन्। अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै प्रान्तीय सरकारले तेस्रो तहको आपत्कालीन प्रतिक्रिया जारी गरेको छ।
उद्धार तथा राहत कार्यलाई सहयोग गर्न चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले २० मिलियन युआनको केन्द्रीय राहत कोष विनियोजन गरेको छ। उक्त रकम क्षतिग्रस्त सडक, खानेपानी, विद्यालय र अस्पताललगायत पूर्वाधार पुनर्निर्माणमा प्रयोग गरिने जनाइएको छ।