फेक टिकटक आईडी बनाएर अनलाइन ठगी गर्ने तीन जना पक्राउ
सामाजिक सञ्जाल टिकटकमार्फत नक्कली (फेक) आईडी बनाएर सस्तो मूल्यमा ईभी स्कुटर तथा मोटरसाइकलका पार्टपुर्जा बिक्री गर्ने नाममा अनलाइन ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भई हाल ललितपुरको ग्वार्को बस्ने २१ वर्षीय सन्दीप कुमार सिंह कुशवाहा, सप्तरीको राजविराज नगरपालिका–९ घर भई ललितपुरको ग्वार्को बस्ने २१ वर्षीय सुमित दास र महोत्तरीको गौशाला नगरपालिका–५ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २२ वर्षीय दिपुश सिंह रहेका छन्।
पीडितहरूले सस्तो मूल्यमा ईभी स्कुटर र मोटरसाइकलका पार्टपुर्जा घरमै पुर्याइदिने प्रलोभन देखाई अग्रिम भुक्तानीका लागि रकम पठाउन लगाएको र रकम प्राप्त भएपछि सम्पर्कविहीन भई ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा भदौ १६ गते उनीहरूलाई काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा उनीहरूले ‘Scooter_showroom’, ‘Bikersgearnp’, र ‘asma_collection_online’ नामका नक्कली टिकटक आईडी बनाएर प्रचारप्रसार गर्ने गरेको खुलेको छ। उनीहरूले टिकटक प्रोफाइलमा व्हाट्सएप नम्बर राखी ग्राहकहरूसँग कुराकानी गर्ने र प्रि-बुकिङका लागि नागरिकता माग्ने गर्दथे। नागरिकता प्राप्त भएपछि एक व्यक्तिको नागरिकतामा अर्कै व्यक्तिको फोटो टाँसी ग्राहकलाई शंका नहोस् भनी झुक्काउने गरेका थिए।
त्यस्तै, ग्राहकबाट प्राप्त नागरिकताको दुरुपयोग गरी आर्टिफिसियल इन्टेलिजन्स (एआई) मार्फत अर्कै व्यक्तिको फोटो राखी विभिन्न डिजिटल वालेटहरू (N-cash, IME Pay, City Pay, Cell Pay) को केवाईसी (KYC) भेरिफाई गरी खाता खोल्ने गरेको समेत पाइएको छ।
उनीहरूले प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको भन्दै एआईमार्फत भुक्तानीको झुटा रसिद बनाएर प्रचारप्रसार गर्नेसमेत गरेका थिए। पक्राउ परेका तीनै जनामाथि ठगीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।