रसुवाका बाढी प्रभावित परिवारलाई बाह्रविसे नगरपालिकाले प्रतिपरिवार १ लाख १५ हजार दिने
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउन बाह्रविसे नगरपालिकाले प्रतिपरिवार १ लाख १५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
बाह्रविसे नगरपालिकाको ९९औँ कार्यपालिका बैठकले विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै विपद्को कठिन परिस्थितिमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी र तीव्र बनाउनुपर्नेमा जोड दिएको छ।
नगरपालिकाका अनुसार भोटेकोशी नदीमा आएको अचानक बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा बेपत्ताको खोजी कार्य जारी रहेको भन्दै नगरपालिकाले केन्द्र सरकार र सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा सहकार्य गर्न आग्रह गरेको छ।
नगरपालिकाले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनाका लागि पनि राज्यका सबै तह र सम्बन्धित निकायको भूमिका महत्वपूर्ण रहेको जनाएको छ।
बाह्रविसे नगरपालिकाले यसअघि पनि विभिन्न विपद्बाट प्रभावित नागरिकका लागि राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यसपटकको सहयोग पनि विपद् व्यवस्थापन कोषमार्फत प्रभावित परिवारलाई उपलब्ध गराइनेछ।