बाढीबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो, ५ हजार ३२६ अझै सम्पर्कविहीन
रसुवालगायतका जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते दिउँसो १ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मृत्यु हुनेको संख्या १ हजार ३५७ पुगेको जनाएको हो।
प्राधिकरणका अनुसार विभिन्न जिल्लामा खोजी तथा उद्धारका क्रममा शव तथा मानव अंग फेला परेका छन्। चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, धादिङमा ७०, गोरखामा ७५ र तनहुँमा ३८ वटा शव तथा मानव अंग फेला परेका छन्।
फेला परेका शवमध्ये हालसम्म १०२ जनाको मात्र सनाखत भएको र उनीहरूका शव आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ।
बाढी तथा पहिरोपछि ५ हजार ३२६ जना अझै सम्पर्कविहीन रहेका छन्। तीमध्ये रसुवाबाट मात्रै २ हजार ८६० जना बेपत्ता भएका छन्। रसुवाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
यस्तै, नुवाकोटबाट करिब १ हजार ९८१ नेपाली नागरिक र ५८७ विदेशी पर्यटकसमेत अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।