रसुवाका बाढीपीडितका लागि अमेरिकी सेनाका दुई विमान काठमाडौं
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सहयोग गर्न अमेरिकी सेनाका दुईवटा कार्गो विमान सहायता सामग्रीसहित काठमाडौं आइपुगेका छन्।
नेपाल सरकारको अनुरोधमा आएका विमानमार्फत ५ हजार थान विशेष विपद् उद्धार सामग्री, ५०० थान प्राथमिक उपचार किट, स्ट्रेचर तथा फ्रन्ट–एन्ड लोडर नेपाल ल्याइएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
यसअघि अमेरिकाले बाढी प्रतिकार्यका लागि ३६ लाख अमेरिकी डलर बराबरको सहायता घोषणा गरिसकेको थियो। नयाँ सामग्री उक्त सहायता प्याकेजभन्दा अतिरिक्त रहेको दूतावासले जनाएको छ।
यी उपकरणले रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा फसेका श्रमिकको खोजी तथा उद्धारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।