बाढी प्रभावित जिल्लाबाट पोखरा ल्याइएका ८३ बेवारिसे शव व्यवस्थापन
बाढी प्रभावित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका पहिचान हुन नसकेका शव व्यवस्थापन गर्न थालिएको छ । तनहुँ, गोरखा, धादिङ र पूर्वी नवलपरासीबाट ल्याइएका कुल १ सय २ शवमध्ये १९ वटा शवको पहिचान भएको छ । बाँकी ८३ शवको डीएनए नमुना संकलन गरी आवश्यक विवरण तथा ट्याग लगाएपछि व्यवस्थापन प्रक्रिया अघि बढाइएको हो ।
पहिचान हुन नसकेका शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वन क्षेत्रमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ । शवको पहिचानका लागि डीएनए नमुना सुरक्षित राखिएको जनाइएको छ ।
हालै आएको बाढी तथा पहिरोका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका तथा पहिचान हुन नसकेका शवलाई पोखरा ल्याएर आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको हो ।