शिक्षक हत्यामा संलग्न आरोपी भरुवा बन्दुकसहित पक्राउ
सङ्खुवासभाको मकालु गाउँपालिका–१ स्थित कालिका आधारभूत विद्यालयका शिक्षकको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको गोली प्रहारबाट हत्या भएको थियो ।
हत्यामा संलग्न आरोपमा मकालु गाउँपालिका–१ स्थित सिउँडीबारी घर भएका ३३ वर्षीय पत्न कुलुङ राईलाई पक्राउ गरिएको सङ्खुवासभाका डीएसपी कुमार मैनालीले बताए ।
प्रहरीले हत्यामा प्रयोग भएको भरुवा बन्दुक पनि बरामद गरेको छ । सिलिङचोङ गाउँपालिका–५ याफु घर भएका शिक्षक सोही विद्यालयमा बस्दै आएका थिए । साँझको खाना खाएर भाँडा धुन बाहिर निस्कँदा उनीमाथि गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
बन्दुक पड्किएको आवाज सुनेपछि सोही विद्यालयमा बस्दै आएकी शिक्षिका टिकामाया राई बाहिर निस्केर हेर्दा शिक्षक ढलेको अवस्थामा भेटिएका थिए ।
मृतकको पछाडिको भागमा भरुवा बन्दुकले लागेको चोट देखिएको छ । शुक्रबार बिहान आरोपीलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको डीएसपी मैनालीले बताए ।