नेपाललाई प्रिमियर कपको उपाधि, एसिया कपमा छनोट
काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि जितेको छ । मलेसियामा शनिबार सम्पन्न फाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि जितेको हो ।
उपाधिसँगै नेपाल सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपका लागि छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । यसअघि सन् २०२३ मा पनि नेपालले युएईलाई नै पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो ।
क्वालालाम्पुरस्थित बायुमास ओभलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९ दशमलव १ ओभरमा २६९ रनमा अलआउट भयो । युएईका लागि राहुल चोपडाले १०५ बलमा तीन चौका र चार छक्कासहित अविजित १०० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
युएईका सोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रीत सिंहले ३३ र खुजैमा तनवीरले १५ रन बनाए । नेपालका लागि करण केसीले तीन तथा ललितनारायण राजवंशीले दुई विकेट लिए । कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र गुलशनकुमार झाले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो । नेपालका ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेल्दै १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो ।
गुलशनकुमार झाले पनि अर्धशतकीय पारी खेल्दै ३८ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा गुलशनको यो छैटौँ अर्धशतक हो ।
नेपालका लागि अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, ईशान पाण्डेले १३ तथा बसिर अहमदले अविजित १५ रन बनाए ।
युएईका लागि इब्रार अहमदले चार तथा खुजैमा तनवीरले दुई विकेट लिए । हैदर अली र अबीद उस्मानीले समान एक विकेट लिए ।
यससँगै नेपालले प्रिमियर कपको उपाधि रक्षा गर्दै दोस्रोपटक प्रतियोगिता जितेको छ भने युएईलाई हराउँदै लगातार दोस्रोपटक एसिया कपमा स्थान सुरक्षित गरेको छ ।