चीनबाट आपत्कालीन राहत सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो
चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो खेप मंगलबार काठमाडौं आइपुगेको छ। चीनको जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो क्षमताको ढुवानी विमानमार्फत मंगलबार दिउँसो राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए।
चीनबाट आएको पछिल्लो खेपमा मुख्य रूपमा उद्धारका लागि प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिल स्थायी चुम्बकीय बाढी पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्ती रहेका छन्।
नेपालमा देखिएको विपद्को अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यक आवश्यकताअनुसार राहत सामग्री छनोट गरिएको चीनले जनाएको छ।
चीनले यसअघि पनि नेपालका विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउँदै विभिन्न चरणमा आपत्कालीन राहत सामग्री उपलब्ध गराउँदै आएको छ। पछिल्लो खेपले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापन कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।