अनुहार नमिलेपछि जेनजी आन्दोलनका ४५ सहिदका सालिक अनावरण स्थगित
गत भदौमा भएको जेनजी आन्दोलनमा मृत्युवरण गरेका ४५ सहिदका सालिक अनावरण गर्ने कार्यक्रम स्थगित भएको छ।
तयार पारिएका सालिक सहिदको अनुहारसँग नमिलेपछि परिवारका सदस्यहरूले आपत्ति जनाएका थिए। परिवारका सदस्यहरूले सालिकमा सहिदको अनुहार नमिलेको भन्दै सच्याउन माग गरेपछि अनावरण कार्यक्रम स्थगित गरिएको हो।
सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको पार्कमा ४५ सहिदका सालिक तयार पारिएका थिए। तर, परिवारका सदस्यले सालिकको स्वरूपप्रति असन्तुष्टि जनाएपछि तत्काल अनावरण नगर्ने निर्णय गरिएको हो।
परिवारका सदस्यहरूको आपत्तिपछि सालिकहरूमा आवश्यक सुधार गरेर मात्रै अनावरण गरिने भएको छ। सालिक सच्याउने काम सम्पन्न भएपछि नयाँ मिति तय गरी अनावरण कार्यक्रम आयोजना गरिने जनाइएको छ।