चिलिमे जलविद्युत आयोजनाको सुरुङमा उद्धार तीव्र
रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा थुनिएका व्यक्तिहरूको उद्धार कार्य तीव्र पारिएको छ। उद्धार टोली सुरुङभित्रको पावरहाउस क्षेत्र नजिक पुगेपछि उनीहरूलाई जीवितै उद्धार गर्न सकिने आशा बढेको छ।
आयोजना स्थलमा रहेका सुरुङ विज्ञ एवं सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रको पावरहाउस क्षेत्रमा सुरक्षित स्थान रहेको र त्यहाँ खाद्यान्न तथा अत्यावश्यक सामग्रीसमेत रहेको जानकारी प्राप्त भएकाले थुनिएका व्यक्तिहरू जीवितै फेला पर्ने सम्भावना उच्च रहेको छ।
न्यौपानेका अनुसार उद्धार टोली पावरहाउस क्षेत्रभन्दा करिब १०० मिटरको दूरीमा पुगेको छ। सुरुङको डिजाइन तथा संरचनाको विश्लेषण गर्दा पावरहाउस करिब ६० मिटर लामो, २५ मिटर अग्लो र २० मिटर चौडा रहेको छ।
सुरुङभित्र लेदो मिसिएको पानीको सतहलाई हेर्दा पावरहाउसको माथिल्लो भागमा २ देखि ८ मिटरसम्म खुला तथा सुरक्षित स्थान हुनसक्ने अनुमान गरिएको छ।
‘पावरहाउसको माथिल्लो भागमा चामल, पानी, चिनी, चिया र ब्याट्रीलगायत अत्यावश्यक सामग्री रहेको जानकारी प्राप्त भएको छ,’ न्यौपानेले भने, ‘यदि सबै व्यक्तिहरू उक्त स्थानसम्म पुग्न सफल भएका छन् भने उनीहरू सुरक्षित अवस्थामा रहेको हाम्रो विश्वास छ।’
हालसम्म उद्धार टोलीले सुरुङभित्र करिब ९० मिटर दूरी पार गरिसकेको छ। बाँकी दूरी पार गरी भोलिसम्म एक्स्काभेटरलाई पावरहाउसको पहुँच मार्गसम्म पुर्याउने लक्ष्य रहेको न्यौपानेले जानकारी दिए।
उनका अनुसार हालसम्मको उद्धार कार्यको प्रगति सन्तोषजनक छ। प्राविधिक टोलीले सुरुङको ड्रइङ तथा डिजाइनको निरन्तर अध्ययन गर्दै उद्धार कार्य अघि बढाइरहेको छ।
न्यौपानेले सुरुङभित्र थुनिएका व्यक्तिका लागि अक्सिजन र हावाको गुणस्तर सबैभन्दा महत्वपूर्ण हुने बताए। पानी उपलब्ध भएको र शारीरिक गतिविधि कम गरी ऊर्जा बचत गर्न सकेको अवस्थामा खाना नखाई पनि मानिस केही समय बाँच्न सक्ने उनको भनाइ छ। उद्धार टोलीले सुरुङभित्रको अवस्थाको निरन्तर मूल्याङ्कन गर्दै सुरक्षित रूपमा थुनिएका व्यक्तिसम्म पुग्ने प्रयास गरिरहेको छ।