रसुवागढी आयोजनाको पावर हाउसमा थुनिएका कर्मचारीको तत्काल उद्धार गर्न कुलमान घिसिङको आग्रह
काठमाडौं — पूर्वमन्त्री कुलमान घिसिङले रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमा थुनिएका कर्मचारीको तत्काल उद्धार गर्न आग्रह गरेका छन्।
भदौ १४ गते टिमुरे, रसुवागढी सुरुङ र चिलिमे सुरुङको अनुगमन (रेकी) गरेर फर्किएपछि धुन्चेमा सुरक्षा निकायसँग छलफल गरेको जानकारी दिँदै घिसिङले भदौ १५ गते नेपाली सेनाको टोली पहुँच सुरुङभित्र करिब २५० मिटरसम्म पुगेको बताएका छन्।
सुरुङभित्र मानिस नभेटिएको जानकारी प्राप्त भएको उल्लेख गर्दै उनले आयोजनाका कर्मचारी सुरुङभित्र रहेको पावर हाउसको कन्ट्रोल रुममा रहने भएकाले अब पावर हाउससम्म पुग्ने वैकल्पिक उपाय खोज्नुपर्ने बताएका छन्।
“कर्मचारीहरू सुरुङभित्रको पावर हाउसको कन्ट्रोल रुममा रहने हुँदा अब पावर हाउसमा छिर्ने उपाय गरी त्यहाँ थुनिएका कर्मचारीको उद्धार तत्काल गरिनुपर्छ,” घिसिङले भनेका छन्।
पहिरोका कारण सुरुङ अवरुद्ध भएपछि प्रशासन र सुरक्षा निकायको टोलीले अवरोध हटाउँदै उद्धारको प्रयास जारी राखेको छ। पावर हाउससम्म पुगेर त्यहाँ रहेका कर्मचारीको अवस्था पत्ता लगाउन तथा उद्धार गर्न थप प्रयास आवश्यक रहेको घिसिङको भनाइ छ।