रसुवा बाढीले खानेपानी क्षेत्रमा ५५ खानेपानी आयोजना बगाउँदा ६ करोड ४० लाखको क्षति
नेपाल–तिब्बत सीमा क्षेत्रमा (रसुवा) गत भदौ १० गते आएको भीषण बाढी (फ्लास फ्लड) का कारण चार जिल्लाका ५५ वटा खानेपानी आयोजनामा ठुलो क्षति पुगेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीका कारण हालसम्म ६ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नुवाकोट जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ २२ वटा आयोजनामा ४ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, धादिङका २० आयोजनामा १ करोड ४७ लाख, गोरखाका ५ आयोजनामा ५० लाख र रसुवाका ८ आयोजनामा ३ लाख १५ हजार रुपैयाँको क्षति भएको छ । क्षतिको विवरण सङ्कलन गर्ने कार्य अझै जारी रहेको विभागले जनाएको छ ।